काठमाडौं — साताको पहिलो कारोबारको दिन आज आइतबार सेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २० दशमलव ५५ अङ्कले बढेर २१६४ दशमलव ४८ अङ्कमा पुगेर बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १ दशमलव ४५ अङ्कले बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । यस दिन १ करोड ४१ लाख कित्ता सेयर ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधकि ४ दशमलव ४३ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ०७ प्रतिशत घटेको छ ।

३ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन खप्तड लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र ङादी ग्रुप पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नति स्किम १ को इकाईमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर, विन नेपाल लघुवित्त र श्रृजनशील लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी २१ करोड २९ लाख रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको करिब २० करोडको सेयर कारोबार भएको छ भने रिडी पावरको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।