काठमाडौं — विराटनगर सुपर किङ्ग्स नेपाल टी–२० लिग क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । आज शनिबार भएको खेलमा काठमाडौं नाइट्सलाई सात विकेटले पराजित गर्दै विराटनगर लिगको प्लेअफमा पुगेको हो ।

१५५ रनको मध्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले १८.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो । विराटनगरको जितमा कप्तान रोहितकुमार पौडेलले ६६ रन बनाए । उनले ४२ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै ६६ रन बनाए । त्यस्तै, गौरांशु शर्मा ५१ रनमा अविजित रहे । हुसेन तलातले २१, विवेक यादव र अर्जुन साउदले समान १०–१० रन बनाए । बलिङतर्फ काठमाडौंका अविनाश बोहराले दुई विकेट लिए ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनाएको थियो । काठमाडौंका लागि सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४–३४ रन बनाए । त्यस्तै, सन्दीप रजालीले ३० र कप्तान ज्ञानेन्द्र मल्लले अविजित २२ रन बनाए । बलिङतर्फ विराटनगरका राज नान्ननले चार विकेट लिए ।

यो जितसँगै विराटनगरले समूह चरणको आफ्नो सबै १० खेल खेल्दै १० अङ्क नै बनाएर प्लेअफमा स्थान बनाएको हो । यता, पराजित काठमाडौं नाइट्स पराजित भएपनि प्लेअफमा पुग्ने सम्भावना रहेको छ । आजै हुने दोस्रो खेलमा फार वेष्ट युनाइटेडसँग पोखरा एभेन्जर्स पराजित भए काठमाडौं सिधै प्लेअफमा पुग्नेछ ।