सप्तरी -सप्तरीमा अत्यधिक चिसोका बाबजुद सप्तरीको कोसी ब्यारेजमा मेला भर्न आउनेको घुइँचो लागेको छ । सप्तकोसी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुरलगायत जलासय कोसी पम्प नहरमा नुहाएर आज पुसे पूर्णिमा मनाइँदै छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोसी ब्यारेजमा बिहानैदेखि कोसी स्नान तथा मेला भर्न आउनेको घुइँचो लागेको छ । ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ, भारतको पूर्णिया, फारबिसगञ्ज, मधुवनी, लौकही, लौकहा, खुटौना, अररिया, निर्मली, कुनौलीलगायत स्थानबाट कोसीमा स्नान गर्न आएका स्थानीय लीला यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बिहानैदेखि बस, ट्र्याक्टर, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोसी स्नानका लागि आउनेको सङ्ख्या उल्लेख्य छ ।
कौशिका माताका रूपमा कोसी नदीलाई पूजा गर्ने चलनअनुसार यस दिन कोसीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने विश्वास रहिआएको छ । यस दिन मेलामा भुजा, चिउरा, पुरी, तरकारी, जेरीसहितका मीठाइ खाने गरिन्छ भने बढी श्रद्धालु घरबाटै मुरही, चिउरा, छोला तरकारी बोकेर जाने चलन छ । एकदिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्तनिर्मित सामग्रीको खरिद–बिक्री गरिन्छ ।
मेलामा कृषकका बढी उपस्थिति हुने गरेको स्थानीयवासी बताउँछन् । पौष शुक्ल पूर्णिमाका दिन कोसी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गङ्गास्नान गरेसरह पुण्य मिल्ने जनविश्वास रहेको पण्डित पुरण झा बताउनुहुन्छ । सप्तकोसी नगरपालिका, बलान बिहुल गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कल्याणपुर नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् । रासस