दोहा – कतारमा श्रम कानुन उल्लङ्घन गर्ने ६ सय ९५ वटा कम्पनी कारबाहीमा परेका छन् । कतारको श्रम मन्त्रालयले २०२२ को डिसेम्बरमा कूल ३ हजार ३ सय ७५ वटा कम्पनीहरूमा सघन निरीक्षण गरेकोमा ६ सय ९५ वटालाई कारबाही गरेको र ५ सय ९२ वटालाई चेतावनी दिएको जनाएको छ ।

डिसेम्बर महिनाको तथ्याङ्क बुलेटिनमा मन्त्रालयमा नयाँ भर्नाका लागि ५ हजार ६ सय १६ अनुरोध आएकोमा २ हजार ५ सय ६९ अनुमोदन भएको देखाएको छ भने पेसा परिमार्जनका लागि ३ हजार ३ सय ७६ निवेदन स्वीकृत भएको देखिएको छ । डिसेम्बरमा श्रम स्वीकृतिका लागि निवेदन दिनेको संख्या करिब एक हजार २ सय ४४ थियो। जसमा अनुमति नवीकरणका लागि ५ सय ६१, नयाँ अनुमति पत्र जारी गर्न ४ सय ५९ र जारी अनुमति खारेज गर्न २ सय २४ निवेदन परेका थिए ।

भर्ना कार्यालयको निरीक्षण भ्रमणको सन्दर्भमा, तथ्याङ्क बुलेटिनले मन्त्रालयले भर्ती कार्यालयमा करिब ५९ वटा निरीक्षण भ्रमण गरेको देखाएको छ । परिणामस्वरूप ६ वटा उल्लङ्घनलाई हटाउन चेतावनी दिइएको छ भने एक भर्ती कार्यालयलाई सल्लाह र निर्देशन दिइएको छ । श्रम सम्बन्ध विभागले करिब १ हजार ७ सय ५७ उजुरी प्राप्त गरेको छ । जसमध्ये ३ सय ८९ उजुरी समाधान भएको छ भने २४९ श्रम विवाद समाधान समितिमा पठाइएको मन्त्रालयलाई उद्धृत गर्दै द पेनिन्सुला कतारले जनाएको छ ।

मन्त्रालयले घरेलु कामदारका ६२ गुनासो प्राप्त गरेको थियो । तीमध्ये २३ उजुरी समाधान भएको र ८ वटा श्रम विवाद समाधान समितिमा पठाइएको जनाइएको छ । त्यसैगरी श्रम सम्बन्ध विभागले ८९ वटा उजुरी जनताबाट प्राप्त गरेको र तीमध्ये सबै समाधान भएको जनाएको छ । श्रम विवाद समाधान समितिहरूको सन्दर्भमा, डिसेम्बरमा यी समितिहरूमा पठाइएका मुद्दाहरूको संख्या एक हजार ७ सय ३४ पुगेको छ । यी मुद्दाहरूको सम्बन्धमा यी समितिहरूले निर्णय गर्ने संख्या ३ सय ७८ छ भने लगभग ६ सय ७२ मुद्दा प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । एजेन्सी