काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले जारी नेपाल टी– २० लिगमा म्याच फिक्सिङ नभएको जनाएको छ । क्यानले आज बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ भएको हल्ला मिथ्या भएको भन्दै टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा ध्यानाकर्षण गराएको हो ।

क्यानले कसैले फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित जारी नेपाल टी–२० लिगको ‘एन्टी करप्सन युनिट’ लाई उजुरी बुझाउनसमेत आग्रह गरेको छ । यसका साथै क्यानले सङ्घ र राष्ट्रको नाममा मिथ्या तथा भ्रामक सूचनाहरू नफैलाउन पनि अनुरोध गरेको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा जारी विज्ञप्तीमा भनिएको छ – नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्नेमा नेपाल क्रिकेट संघ प्रतिवद्धता जनाउँदै यस प्रकारका म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी–२० लिगको एन्टी करप्शन युनिटमा उजुरी बुझाउन यस सङ्घ विनम्र अनुरोध गर्दछ ।’