फाइल तस्वीर


धुलिखेल– नमोबुद्ध नगरपालिका–३ दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार (कोल्डस्टोर) निर्माण थालिएको छ । शीतभण्डार सञ्चालनमा आएपछि नगर तथा आसपासका रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुलीका कृषकसमेत लाभान्वित हुनेछन् ।

यसअघि अन्न भण्डारणकै लागि महँगो मूल्य तिरेर पाँचखाल, बनेपा, पनौतीसम्म पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो । उक्त शीतभण्डारका लागि नगरकै जलवायु अनुकूलन कार्यक्रममार्फत् पहिलो चरणमा रु. ८५ लाख विनियोजन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा स्थानीय लागत सहभागितासमेत गरी रु. ९९ लाख खर्च हुने भएको छ । उक्त लागतमध्ये १५ प्रतिशत स्थानीय उपभोक्ताले व्यहोर्ने जनाइएको छ ।

कुल रु. आठ करोड ३६ लाख ४६ हजार नौ सय ९९ लागत अनुमानमा तयार गरिने भण्डारणलाई बहुवर्षीय योजनामा समावेश गरेर पूरा गर्ने नगरले योजना बनाइएको हो । प्रति च्याम्बर ३० मेट्रिकटनका दरले छ च्याम्बरमा एक सय ८० मेट्रिकटन तरकारी, फलफूल र अन्न भण्डारण गर्न सकिने नगरपालिकाका इञ्जीनियर उज्ज्वल अर्यालले बताउनुभयो ।

शीतभण्डार मङ्गलबार नगरप्रमुख कुन्साङ लामाले शिलान्यास गर्नुभएको हो । उहाँले पहिलो चरणमा निर्माण हुने एकतले भवन तीन महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । स्थानीय उपभोक्ता सीता दाहालले शीतभण्डार सुरु गरिएकामा खुसी व्यक्त गर्दै अब आलुलगायत तरकारीको बीउ राख्न खर्च गरेर अन्त जानै नपर्ने बताउनुभयो ।