साङ्केतिक तस्वीर
फिदिम – पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १:३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन् । आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित रु. ५० लाख बराबरको धनमाल क्षति भएको भएको आङ्कलन गरिएको छ । आगलागी के कारणले भयो भन्ने ठोस प्रमाण नदेखिएको हुँदा घरमा विद्युत् सर्ट भै आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागी नियन्त्रणका लागि रानीटारस्थित अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको पाँच जनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हरि खतिवडाको कमाण्डमा थप २५ प्रहरी परिचालन गरिएको थियो । स्थानीयवासी, दुईवटा वारुणयन्त्र तथा प्रहरीको सक्रियतामा आगलागी तीन घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीहँुदा घरमा रहेका तीन जना भाग्न सफल भएका छन् । अग्निपीडितलाई छिमेकीको घरमा राखिएको प्रहरीले जनाएको छ । पीडितलाई जिल्ला दैविक विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत् खाद्यान्न तथा लत्ताकपडा दिने तयारी भइरहेको बताइएको छ ।
आगालागी भएको स्थानको निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारी गणेश गैरे, फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्ले, फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेलगायतको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।