हेटौंडा – बागमती प्रदेशमा नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ । आमज सोमबार बिहान बसेको सर्वदलीय बैठकले बागमती प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन २८ र २९ पुसमा हुने मिति तय गरेको हो । प्रदेश सभाको पहिलो अधिवेशन आज दिँउसो १ बजे बोलाइएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकको कार्यसूची तय गर्न बसेको सर्वदलीय बैठकले प्रदेश सभाको कार्यसूची र सभामुख र उपसभामुखको निर्वाचनको मितिसमेत तय गरेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । सभामुख र उपसभामुखको निर्वाचनका लागि २७ पुसमा मनोनयन दर्ता गर्न मिति निर्धारण गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ ।

आज बस्ने प्रदेश सभाको बैठकमा दलीय रूपमा दलका नेताहरूले शुभकामना मन्तव्य राख्नेछन् भने निर्वाचितबाहेकका मन्त्रीहरूलाई पनि सदनमा आसनको व्यवस्था गर्न दलहरू सहमत भएका छन् । निर्वाचनबाट नयाँ संसद् आइसक्दा पनि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नुभएको छैन ।