फाइल तस्वीर लुम्बिनी प्रदेशसभा दाङमा निर्मित नयाँ भवन
दाङ – लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आज सोमबार बस्दैछ । दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे लागि अधिवेशन बोलाइएको हो ।

आजबाट सुरुहुने पहिलो अधिवेशनमा पहिलो र दोश्रो गरी दुईवटा बैठक बस्ने कार्यसूची रहेको प्रदेश संसद् सचिवालयले जनाएको छ । पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र जेष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने कार्यसूची रहेको छ । अधिवेशनको पहिलो सत्रमा प्रदेश प्रमुख अमिक शेचरनले प्रदेशसभा बैठकलाई सम्वोधन गर्नुहुने कार्यसुची रहेको छ ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनलले जानकारी दिए।

दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्ताव गर्नुुहुने कार्यसुची रहेको छ । आजको कार्यसुचीमा दलको तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्नुहुने छ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नु भएको थियो ।

अधिवेशन प्रारम्भ भएपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ । पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।