बारा– निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २ कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले १५ वर्षकी नाबालिगलाई घरमा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा गत २०७९ आश्विन २५ गते मङ्गलबार इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो। जाहेरी दर्ता भएसँगै वडा अध्यक्ष श्रेष्ठ फरार रहेका थिए ।
आइतबार राति करिब ८ ः ३० बजे उनी आफै इलाका प्रहरी कार्यालय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ । दसैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा जबरजस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिइन् । श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।