पोखरा — पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ । विमानस्थलको भव्य समारोहबीच आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतको उपस्थिति थियो ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ । समारोहमा प्रधानमन्त्री दाहालले पोखरा विमानस्थलले गण्डकी प्रदेशको मात्र नभई समग्र देशकै अर्थतन्त्रमा विशिष्ट योगदान पु¥याउने बताउनुभयो । विमानस्थलले पोखरालाई अन्तर्राष्ट्रिय सहरसँग जोड्ने उहाँको भनाइ छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा विमानस्थल सञ्चालनमा सरकारले सघाउने बताउनुभयो । नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायत विमानस्थलसँग जोड्नुपर्ने उहाँले बताउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा विमानस्थल गण्डकी प्रदेशको समृद्धि र विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नका लागि सङ्घ सरकारको उहाँले ध्यानाकर्षण गराउनुभयो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भएको बताउँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । विमानस्थल सञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक भएकामा जोड दिँदै उहाँले विमानस्थल सञ्चालनमा समस्याका रुपमा रहेका रिठेपानी डाँडा कटान र ल्यान्डफिड साइडको व्यवस्थापन गरिएको बताउनुभयो ।

विमानस्थल निर्माणकै लागि २०३४ सालदेखि जग्गा अधिग्रहण गरे पनि लामो समयसम्म काम अघि बढ्न नसकेकामा चिन्तित पोखरावासीले यसको निर्माण थाल्नुपर्ने मागसहित लामो समयसम्म सङ्घर्ष गरेका थिए । पोखरेलीको लामो समयदेखिको सङ्घर्षको प्रतिफलस्वरूप विमानस्थल सञ्चालनको अवस्थामा आउनु पोखरेलीका लागि हर्षको विषय भएको अभियानकर्मी विश्वशङ्कर पालिखे बताउनुहुन्छ । विमानस्थल निर्माणसँगै पोखरा अन्तर्राष्ट्रिय सहरका रुपमा स्थापित भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ यो आगामी दिनमा व्यस्त विमानस्थलका रुपमा चल्नुपर्ने बताउनुहुन्छ ।