लुम्बिनी प्रदेशसभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गर्नुभएको हो । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उहाँहरुलाई शपथ गराउनुभएको हो ।

प्रतिनिधिसभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराई ज्येष्ठ सदस्यले प्रदेशसभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै शपथ गराउने गरिएको छ ।  

ज्येष्ठ सदस्य भुसालले अध्यक्षता गर्ने

लुम्बिनी प्रदेशको प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्नुहुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुलर्भकुमार पुनका अनुसार प्रदेशसभाका सदस्यमध्ये ज्येष्ठ सदस्य भुुसालले सभाको अध्यक्षता ग्रहण गर्नुहुनेछ । प्रदेश प्रमुखले ६९ वर्षीय भुुसाललाई यससम्बन्धी जिम्मेवारी पत्र प्रदान गर्नुभएको छ । भुसाल नेकपा एमालेबाट गुल्मी २(१) बाट निर्वाचित हुनुभएको हो । प्रदेशसभाको पहिलो बैठक आगामी सोमबार दिउँसो १ बजे बस्नेछ ।