काठमाडौं — साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजार परिसूचक १७ अङ्कले बढेको छ । साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले बढेको हो । तीव्र उतार–चढावकाबीच नेप्से परिसूचक १७ अङ्कले बढेर २०४६ दशमलव २९ विन्दूमा उक्लिएको छ ।

अघिल्लो साताभर १६१ अङ्कले बढेको सेयर बजार यो सातापनि दोहोरो अङ्कले वृद्धि हुँदै साताको सकारात्मक सुधार देखिएको छ । बजारसँगै कारोबार रकम पनि उल्लेख्य वृद्धि देखिएको छ। आज सेयर बजारमा २६१ कम्पनीको ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । जसमा १ करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर ६२ हजार ५५१ पटकमा खरिद बिक्री भएको छ । गत साताको अन्तिम कारोबारमा २ अर्ब ८६ करोडको सेयर खरिद बिक्री भएको थियो ।

उप–सूचकतर्फ विकास बैंक ० दशमलव ०४ प्रतिशत तथा फाइनान्स सूचक ० दशमलव २० प्रतिशतले घट्दा बाँकी सूचक बढेका छन् । १७ अङ्कले बजार बढ्दा आज कारोबार भएका १२१ कम्पनीको सेयर मूल्य बढेका छन् भने ८७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै सृजनशील लघुवित्त, खप्तड लघुवित्त, धौलागिरि लघुवित्तका सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेका छन् ।