फाइल फोटो

विराटनगर– प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गर्नुभएको छ । आज आइतबार उहाँले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिनुभएको हो । यही २४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिनुभएको हो ।

‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् । सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश १ को पहिलो अधिवेशन पनि आजैबाट सुरु हुँदैछ ।