फाइल तस्वीर
तनहुँ — पत्रकारिता क्षेत्रमा टिकाइरहनका लागि अक्षयकोष स्थापना गरिएको छ । सब इञ्जिनीयर स्वर्गीय हरिभक्त भट्टराईको प्रथम स्मृति दिवसमा उहाँको परिवारले अक्षयकोष स्थापना गर्नुभएको छ ।

स्व. भट्टराईका श्रीमती, छोराछोरी, बुहारीले उहाँको स्मृति दिवसका दिन आज रु. १ लाख १० हजारको अक्षयकोषको रकम हस्तान्तरण गर्नुभएको नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले बताउनुभयो । पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकारलाई वार्षिकरुपमा पुरस्कार प्रदान गर्नेगरी अक्षयकोष स्थापना गरिएको उहाँका छोरा सुमन भट्टराईले बताउनुभयो ।

“बुवा समाजसेवामा आबद्ध रहनुभएकाले पत्रकार पनि समाजको आँखा हो, समाजको आँखा मानिएका पत्रकारलाई बुवाको स्मृतिमा सम्मान गर्न र उनीहरुलाई प्रोत्साहनमा सहयोग गर्न अक्षयकोष स्थापना गरेका हौँ”, सुमनले भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य प्रदीप काफ्लेले पत्रकारिता क्षेत्रमा लाग्ने युवालाई यस्ता कार्यले प्रोत्साहन मिल्ने बताउनुभयो । यसले पत्रकारलाई खोजी र तथ्यपरक समाचार सङ्कलनतर्फ सचेत गराउनुका साथै सत्य समाचार लेख्न सहयोगी सिद्ध हुने उहाँको भनाइ छ । नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीले निराशा छाउने अवस्थामा पुगेका पत्रकारलाई पुरस्कारले यस क्षेत्रमा रहन प्रेरित गर्ने बताउनुभयो ।