काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४ दशमलव ७५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बिहीबार सम्पन्न बैंकको बाह्रौं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो । अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले रु. ८,४१,५४,७१,५७६ दशमलव ३० मा सेयरधनीलाई ४ दशमलव ७५ प्रतिशत बोनस सेयर र ० दशमलव २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८ /७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाँडमा लगायतका प्रतिवेदन पारित गरेको छ । साधारणसभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौता समेत पारित गरेको छ ।

चालू आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८२ दशमलव ४२ अर्ब र कर्जा रकम रु. ६६ दशमलव ९३ अर्ब परिचालन गरी रु. २२ दशमलव ०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।