हेटौंडा — नेपाल कम्युनिस्ट पार्टी एमालेले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जेएन)लाई सर्वसम्मत चयन गरेको छ । बैठकले थपलियालाई दलको नेताका रूपमा सर्वसम्मत चयन गरेको हो ।

बैठकअघि भएको सहमति प्रयासमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पार्टी स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्य आनन्द पोख्रेल र केन्द्रीय सदस्य रामेश्वर रानाले थपलियालाई दलको नेता बनाउनेबारे निर्णय सुनाउनुभएको थियो । थपलियाले चितवनको निर्वाचन क्षेत्र १ को (१) बाट काङ्ग्रेसका किरण ओलीलाई साढे ८ हजार मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

गठबन्धनमा एमालेले बागमती प्रदेश पाएको अवस्थामा दलको नेता चयन भएसँगै थपलियालाई मुख्यमन्त्री हुने बाटो खुलेको छ । तर, गठबन्धनमा प्रदेश भागवण्डा लागिनसकेकाले बागमती प्रदेशमा कसले नेतृत्व गर्छ भन्ने टुङ्गो छैन ।