फाइल तस्वीर
विराटनगर — नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ ले औपचारिकरूपमा मुख्यमन्त्रीमा दाबी गरेको छ । सो पार्टीको प्रदेश समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

माओवादी केन्द्र प्रदेश नं १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन र अन्य पार्टीसँगको सहकार्यका लागि वार्ता समितिसमेत निर्माण गरेको जनाउनुभयो । “प्रदेश सरकारको नेतृत्व हाम्रो पार्टीले पाउनुपर्ने मागदाबीसहित पार्टीको शीर्ष नेतृत्व र सत्तासाझेदार दलहरूसँग छलफललाई अगाडि बढाउने निर्णय गरियो”, विज्ञप्तिमा भनिएको छ ।

यस्तै प्रदेश सरकार गठन र अन्य सहकार्यका लागि पार्टीको तर्फबाट माओवादीका केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज राम कार्कीको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरिएको छ । समितिका अन्य सदस्यमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ रहनुभएको छ ।

प्रदेश १ प्रदेशसभामा ९३ जना सदस्य छन् । नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका छ, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीका एक जना सदस्य रहेका छन् । रासस