फाइल तस्वीर


सिरहा – पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको कमला नदीबाट सप्तरी कञ्चनपुरसम्मको भौतिक प्रगति २५ प्रतिशत मात्र भएको छ । दुई वर्ष एक महिना अवधिमा ८६ किलोमिटर आठ सय २३ मिटर लम्बाइको सो सडकको न्यून प्रगति भएको हो ।

एसियाली विकास बैंक (एडिबी) को सहयेगमा तीन वर्षमा काम सम्पन्न गर्ने भनी चाइना रेल्वे नम्बर २ इन्जिनियर गु्रपले ठेक्का लिई २०२० अक्टुबर २९ बाट काम सरु गरेको थियो । झन्डै रु १६ अर्ब लगानीमा बन्न लगेको सो रोड चार लेन र सहरी क्षेत्रमा छ लेन बन्ने भएको छ ।

सो सडकमा आठ अन्डर पास, ६६ पुल र दुई ओभर फ्लाइसमेत बन्ने भएको छ भने मिर्चैया, लहान, रुपनीमा छ लेनको रोड बन्ने बताएको छ । ‘मिडियन’ मा ग्रिनरी बेल्ट तयार गरेर रुख बिरुवा र फूल रोपिनेछ । दायाँ–बायाँ नै साढे दुई मिटरको सोल्जर (अतिरिक्त पिच) गर्ने योजना रहेको छ । यो खण्डका मुख्य बस्ती र सहरी क्षेत्रमा दुईतर्फ सर्भिस लेन बनाइनेछ ।

चाइना रेल्वे नम्बर २ इन्जिनियर ग्रुपका जनसम्पर्क प्रमुख नवीन दुवाडीका अनुसार नोभेम्बरदेखि काम तीव्र गतिमा भइरहेको नेपालको राष्ट्रिय प्राथमिकता रोड रहेकाले समयमा सकाउने गरी कामलाई तीव्रता दिएको छ । कोभिड–१९ र बर्सातमा केही समय काम प्रभावित भएकाले सडक निर्माणमा ढिलाइ भएको हो । सो सडक बनेपछि स्थानीयस्तरमा आर्थिक गतिविधि बढ्ने अनुमान गरिएको हो । रासस