फाइल तस्वीर

हेटौंडा – नेपाली काङ्ग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेताका लागि भएको निर्वाचनमा बहादुर सिंह लामा विजयी हुनुभएको छ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित लामाले अर्काप्रतिस्पर्धी मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाजित ईन्द्रबहादुर बानियाँलाई हराउँदै संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो ।

नेपाली काङ्ग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेताका लागि आज बुधबार प्रदेशसभा संसदीय दलको कार्यालयमा निर्वाचन सम्पन्न भएको थियो । बागमती प्रदेशसभामा नेपाली काङ्ग्रेसका ३७ जना सदस्य रहेकामा लामाले २१ मत प्राप्त गर्दा उहाँका निकटम प्रतिस्पर्धी बानियाँको पक्षमा १६ मत परेको थियो । बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीका आकाङ्क्षी समेत हुनुहुन्थ्यो ।