काठमाडौं — सत्तारुढ दल नेपाली काङ्ग्रेस अहमता र दम्भले अकल्पनीय रुपमा सत्ताबाट सडकमा पुगेको छ । ढेड वर्ष अघि नेकपा माओवादी केन्द्रको आडमा सत्तारोहण गर्न पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र संसद्को ठूलो दलको हुँकार अभिशाफ बन्न पुग्योे । नेपाली काङ्ग्रेस यतिबेला अकल्पनीय राजनीतिक परिघटनाको सिकार बन्न पुगेको छ ।


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाउन नमान्नुको परिणाम नेपाली काङ्ग्रेस र स्वयम् देउवाले भोग्नु परेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन पूर्वसहमतिलाई इन्कार गर्दा नेपाली काङ्ग्रेसले शक्तिशाली सबै पदहरु समेत गुमाउन पुगेको छ ।


आज दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन टुटेको घोषणा गर्दै बालुवाटारबाट बाहिरिएपछि काङ्गे्रस सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा सके ‘बहुमत’ र नसके ‘अल्पमत’ को प्रधानमन्त्री बन्ने योजनामा लाग्नु भएको थियो । देउवाको यो सपना असफल भएको छ ।


सभापति देउवालाई प्रधानमन्त्री बन्न नदिनका लागि पनि पार्टीभित्र संस्थापन इतर पक्षले देउवालाई राष्ट्रपति र प्रधानमन्त्रीको बटमलाईन तोकेको थियो । इतरपक्षको कुटनीतिक प्रयास एक अर्थमा सफल भएको छ । संस्थापन इतर पक्षमा रहेका नेता डा.शेखर कोइराला समूहले पार्टी सभापति देउवालाई उचालेर थेचारेको राजनीतिक विश्लेषण गरिंदैछ ।

सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको सात दिनको समय सकिने अन्तिम दिन आज आइतबारसम्म पनि देउवा माओवादी केन्द्रको समर्थनमा आफैँ प्रधानमन्त्री बन्ने योजनामा हुनुहुन्थ्यो ।

पहिलो कार्यकालमा प्रधानमन्त्रीका अलावा राष्ट्रपति पनि नेपाली काङ्ग्रेसले लिने थियो । एमालेसँगको माओवादी केन्द्रको सम्बन्ध राम्रो नदेखेको काङ्ग्रेसले माओवादी केन्द्रलगायत गठबन्धनका दलहरुलाई पेलेर जाने दम्भ आरम्भ भएको देखिन्थ्यो । काङ्ग्रेसी जनहरुको विश्लेषणमा प्रचण्ड गठबन्धन छाडेर जान सक्दैनन् भन्ने नै थियो ।


राजनीतिका माहिर खेलाडी प्रचण्डले राजनीतिलाई कसरी आफ्नो पासोमा पार्छन् भन्ने हेक्का काङ्ग्रेसले राख्न सकेन । राजनीतिमा को शत्रु को मित्रु भन्ने विश्लेषण नगर्नु काङ्ग्रेसको दम्म पनि हो । अन्ततः माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पासा पल्टाइदिए ।
माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बन्न नसके संविधानको धारा ७२ (३) अनुसारको प्रधानमन्त्री बन्ने योजनामा रहेका देउवालाई प्रचण्डले छाँगाबाट खसाली दिए । बहुमतको सरकार बन्न नसक्ने स्थितिमा प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था धारा ७२ (३) ले गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नछाड्ने जिद्दी गरिरहेको अवस्थामा प्रधानमन्त्री देउवा वार्ता लम्ब्याउँदै जाने र पछि गठबन्धनलाई नै लत्याई प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने बाटो खुल्छ र आफु प्रधानमन्त्री बन्छु भन्ने तानावाना बुन्दै हुनुहुन्थ्यो । यही विश्लेषण गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रपतिले प्रदान गरेको एक हप्ताको समयसीमा सकिन लाग्दासम्म प्रधानमन्त्री आफै हुनुपर्ने अडान दोहोर्याइरहनुभयो । तर देउवाको रणनीतिलाई बुझ्नुभएका प्रचण्डले क्षणभरमै राजनीतिक कोर्ष परिवर्तन गर्दै सत्ताको बागडोर आफ्नो हातमा ल्याउन सफल हुनुभयो ।


जसरी विश्वकप –२०२२ मा विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तिम समयमा विश्वकप जिते त्यसरी नै राष्ट्रपतिले तोकेको समयसीमा भित्रै प्रचण्डले राजनीतिक गोल गर्दै आफुलाई राजनीतिक दिग्विजयको शिखरमा पुर्याउन सफल हुनुभयो ।