काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी पुस १२ गते साढे १८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा कुल १८ अर्ब ५० करोड २५ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।

भोलि सोमबार अर्थात् पुस ११ गते उक्त ट्रेजरीको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो २ बजेसम्म ट्रेजरीका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार ९१ दिनका लागि ६ अर्ब ५० करोड २५ लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रूपैयाँ छुट्याइएको छ । यसअघि पुस ४ गते राष्ट्र बैंकले तीन किसिममा कुल १० अर्ब ८६ करोड रूपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।