फाइल तस्वीर


काठमाडौं — मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यमा धादिङ क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद् राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिनु भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री समेत रहनु भएका पाण्डेले आज शुक्रबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउनु भएको हो ।
दोहोरो भूमिकामा रहनु भएका पाण्डेले प्रतिनिधिसभा सदस्य पदको हिजो शपथ लिएपछि आज बागमती प्रदेश प्रमुखलाई भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिनु भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री रहकै अवस्थामा सङ्घीय संसद्मा निर्वाचिन भएर शपथ लिएको भन्दै राजनीतिक वृत्तमा उहाँको आलोचनासमेत हुन थालेको थियो । नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहनु भएका नेता पाण्डेले २०७८ कात्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो ।

एमाले विभाजनपछि सत्ता गठबन्धनमा रहेर नेकपा एकीकृत समाजवादीको तर्फबाट बागमती प्रदेशको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गर्नुभएको थियो । बागमती प्रदेशमा नयाँ सरकार गठन नहुँदासम्म मुख्यमन्त्रीको जिम्मेवारी कामचलाउ सरकारको रुपमा बहन गर्न दिइएको बागमती प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

यस अघि बागमती प्रदेश सरकारको जिम्मेवारी डोरमणि पौडेल र एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सम्हाल्नु भएको थियो ।