नोमपेन – एशियाली विकास बैङ्क (एडिबी) ले छ वटा परियोजना कार्यान्वयन गर्न ३६ करोड १४ लाख अमेरिकी डलर उपलव्ध गराउने भएको छ । शिक्षा, स्वास्थ्य, ऊर्जा, व्यापार प्रतिस्पर्धा, पशुपालन र माछापालनलगायत क्षेत्रको प्रवद्र्धनका निम्ति ब्याङ्कले ऋण र अनुदान उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर भएको बताएको छ । कम्बोडियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री अन पोर्नमोनिरोथ र कम्बोडियाका लागि एडिबीका देशीय निर्देशक ज्योत्स्ना वर्माले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

बैंङ्कले जारी गरेको विज्ञप्तिअनुसार यो वर्ष कम्बोडियालाई ऋण र अनुदान गरी ५७ करोड ६३ लाख अमेरिकी डलर उपलव्ध भएको छ भने १६ करोड ३७ लाख विकासका अन्य साझेदारहरूबाट सहयोग भएको छ । कम्बोडियाको सामाजिक–आर्थिक विकासका निम्ति एडिबीमार्फत विकासका साझेदारले उक्त रकम प्रदान गरेका हुन् ।

एडिबीको सहयोगमा कार्यान्वयन हुने परियोजनाले कम्बोडियाको स्वास्थ्य र शिक्षा प्रणालीलाई मानव पूँजी बढाउन, जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न र देशको प्रतिस्पर्धात्मक क्षमता बढाउन मद्दत पुग्ने विश्वास देशीय निर्देशक वर्माले व्यक्त गरेकी छन् । (रासस/ सिन्ह्वा)