पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण/फोटो रासस


कास्की — कास्कीस्थित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज बिहीबार यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिनुभयो । ‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका क्रममा पाइटलहरुले विमानस्थल प्राविधिकरुपमा सञ्चालनका लागि तयार भएको प्रतिक्रिया दिनुभएको छ’ प्रवक्ता बर्तौलाले भन्नुभयो ।

विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रुपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भएको र अवतरण पनि सहज भएको बताउनुभयो । विमानस्थल आगामी पुस १७ गते (जनवरी १ तारिख) देखि सञ्चालनमा लागिएको छ । सो विमानस्थलमा आजै बुध्द एयरले पनि दिउँसो ३ः६ बजे विमान अवतरण गरेको छ । रासस