फाइल तस्वीर
सुर्खेत – कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण आगामी सोमबार हुने भएको छ । सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले नवनिर्वाचित सदस्यको शपथ ग्रहण गर्नेछन् ।
प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोदकुमार शाह रहनुभएको छ । दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुनुहुन्छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले शाहलाई प्रदेश प्रमुखले शपथ गराउने र त्यसपछि शाहले प्रदेशसभाका अन्य सदस्यलाई शपथ खुवाउने बताउनुभएको छ ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको लागि तयारी पूरा गरिएको जानकारी दिनुभयो । कर्णाली प्रदेशसभामा सत्तारुढ गठबन्धनको बहुमत छ । प्रत्यक्षतर्फ ९ र ५ समानुपातिक गरी १४ सिटसहित पहिलो दलको हैसियतमा नेपाली काङ्ग्रेस छ भने दोस्रो दलको हैसियतमा प्रत्यक्षतर्फ समान ९ सिट नै जितेर समानुपातिकतर्फ ४ गरी १३ सिट सहित नेकपा माओवादी केन्द्र छ ।
एमालेले प्रत्यक्ष र समानुपातिक गरी १० सिट प्राप्त गरेको छ । झण्डै डेढ वर्षअघि नेकपा एमालेबाट विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन । सो पार्टीले समानुपातिकतर्फ भने एक सिट प्राप्त गर्न सफल भएको छ ।
समानुपातिक तर्फ रुकुम पश्चिमकी कल्याणी खड्का प्रदेसभा सदस्य बन्नुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यो पटक पनि १ सिटमै उपस्थिति जनाएको छ । समानुपातिकतर्फ सुर्खेतकी सन्तोषी शाही ठकुरी राप्रपाबाट सांसद् बन्नुभएको छ ।
प्रदेशसभाको अङ्कगणितको आधारमा कर्णालीमा सत्तारुढ गठबन्धनकै नेतृत्वमा सरकार बन्ने निश्चित छ । तर गठबन्धनभित्र काङ्ग्रेस र माओवादीमध्ये कसले पहिला नेतृत्व गर्ने भन्नेबारे रस्साकस्सी चलिरहेको छ ।
काङ्ग्रेस–माओवादी दुवैलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्वको लागि वचन दिएका कारण नेताहरू केन्द्रको निर्णयको पर्खाइमा छन् । जसले गर्दा सरकार गठनबारे प्रदेशमा अन्योल देखिएको छ ।