काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधवार नेप्सेमा सामान्य अङ्कले गिरावट आएको छ । दुई दिन लगातार रूपमा बढेको नेप्से परिसूचक आज बुधबार ५ दशमलव ८९ अङ्कले घटेर १८६७ दशमलव २२ बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १ दशमलव ३१ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ११ अङ्कले र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ४० अङ्कले घटेको छ । आज बुधवार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता सेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन मङ्गलबार ९३ करोड भन्दा बढीको सेयर कारोबार भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये बैंकिङ उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ उपसमूहको परिसूचक ० दशमलव २७ प्रतिशत बढेको छ ।

त्यस्तै, वित्त र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ । आज बुधवार नेप्से परिसूचकमा गिरावट आएपनि दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये आँधीखोला लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, इष्टर्न हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । बुधवार एनआइसी एसिया बैंकले ११ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।