पत्रपत्रिकाबाट

काठमाडौं – ‘को बन्ला राष्ट्रपति ? प्रधानमन्त्रीमा को आउला ?,’ चुनावपछि सबैको चासो छ । जनताले चुनावमा कुनै एक दललाई मात्रै बहुमत दिएनन्। प्रधानमन्त्री र राष्ट्रपति हात पार्न दलहरू ‘मिल्नैपर्ने’ जनताको म्यान्डेड छ। त्यसैकारण दलहरू भागबन्डाको संवाद र छलफलमा व्यस्त छन् ।

५ दलीय गठबन्धनका दलहरू ‘मिलेरै’ यी पद भागबन्डा गर्नेतिर सक्रिय छन् । उता विपक्षी एमाले गठबन्धन भत्काएर नयाँ समीकरण बनाउने प्रयत्नमा छ । किनभने, यही समीकरण रहिरहे सत्ता र शक्तिका कुनै पनि पद एमालेले नपाउने पक्का छ ।

यता, ५ दलीय गठबन्धनमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको भागबन्डा मिलिसकेको छैन । कांग्रेस दुवै पद आफूले पाउनुपर्ने अडानमा छ । गठबन्धनका अरू दलहरू ‘प्रधानमन्त्री र राष्ट्रपति’ मध्ये कांग्रेसले एक रोज्नुपर्ने तर्क गर्न थालेका छन् । कांग्रेसमा पनि संसदीय दलको नेताका लागि उत्तिकै दौडधुप चलेको छ । तर, गठबन्धनमा रहेका अरू दलका नेताहरू भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्री दुवै पद कांग्रेसलाई दिन सकिन्न ।’

कांग्रेसले दुवै पद नछोड्ने संकेत पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरणको ‘प्रयास’ थालेका छन् । कांग्रेसले दुवै पदको दाबी नछोडे एमालेसँग नयाँ समीकरण हुनसक्ने भन्दै प्रचण्डले एमालेसँग बाक्लो छलफल अघि बढाएका छन् । (अन्नपूर्ण पोस्ट दैनिकबाट)