दोहा – फिफा विश्वकप फुटबल प्रतियोगिता आजबाट सकिंदैछ । कतारमा जारी फिफा विश्वकपको ट्रफी कसले लग्छ भन्ने छिनोफानो आज हुने फाइनल खेलबाट हुनेछ । फाइनल खेल साविक विजेता फ्रान्स र छ पटकसम्म फाइनलमा पुगेको अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ ।

विश्वकप फुटबलको महाकुम्भ मेलाको अन्तिम नतिजा लुसैल रङ्गशालामा हुने फाइनल खेलबाट हुनेछ । फ्रान्स र अर्जेन्टिनाबीच हुने फाइनल खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ । कतारको सबैभन्दा ठूलो लुसैल रङ्गशालामा खेलाइने फाइन खेलप्रति विश्वभरका फुटबल प्रेमीहरुको आँखा तानिएको छ । करिब ८९ हजार दर्शक क्षमताको उक्त रङ्गशालामा हुने फाइनलमा फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् । सन् २०१८ को फिफा विश्वकप जितेको फ्रान्सले यसपटक पनि उपाधि रक्षा गर्दै नयाँ इतिहास कोर्न आतुर छ भने अर्जेन्टिना पनि नयाँ इतिहास कोर्दै तेस्रो पटक फिफाको ट्रफी लियोनल मेस्सीको खेलबाट चुम्न चाहन्छ ।

विश्वकपको इतिहासमा अर्जेन्टिना छैटौं पटक फाइनल खेल्दैछ । यसअघि अर्जेन्टिनाले १९३०, १९७८, १९८६, १९९० र २०१४ मा भएको विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । यसमध्ये अर्जेन्टिनाले १९७८ र १९८६ को संस्करणको उपाधि जित्न सफल भएको थियो ।

साविक विजेता फ्रान्सले भने चांैथोपटक विश्वकपको फाइनल खेल्दै छ । यसअघि तीन पटक फाइनल खेलेको फ्रान्सले दुई पटक विश्वकप ट्रफी चुमेको थियो । फ्रान्सले सन् १९९८, २००६ र २०१८ मा फाइनल खेल्दा १९९८ र २०१८ मा विश्वपक जित्न सफल भयो । अहिलेसम्म विश्वकपको धेरै उपाधि जित्ने राष्ट्र ब्राजिल हो । ब्राजिलले पाँच पटकसम्म विश्वकपको उपाधि हात पारेको छ ।

कतार विश्वकप संस्करणको फाइनल खेलको यात्रा गर्नेक्रममा सेमिफाइनलमको पहिलो खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोल र दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएका थिए । सन् २०१८ मा रुसमा आयोजना भएको विश्वकपमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले हराउँदै उपाधि जितेको थियो । अघिल्लो पटकको उपविजेता क्रोएसिया यस पटक तेस्रो भएको छ ।