दोहा – फिफा विश्वकप फुटबल अन्तर्गत कतारमा जारी प्रतियोगितामा क्रोएसियाले तेस्रो स्थान प्राप्त गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो बन्न सफल भएको हो ।

खेल सुरुभएको ७ मिनेटमा क्रोएसियाले सुरुवाती अग्रता लिंदै मोरक्कोविरुद्ध गोल गरेको थियो । क्रोएसियाले अग्रता बनाएको दुई मिनेट बित्न नपाउँदै मोरक्को पनि गोल गर्दा खेल १–१ गोलको बराबरीमा रहेको थियो । खेलमा इभान पेरिसिकको क्रसलाई जोस्को गार्डिओलोले आकर्षक हेड गर्दै क्रोएसियालाई ७ औ मिनेटमानै अग्रता दिलाएका थिए । तर मोरक्कोले नवौं मिनेटमा बराबरी गोल फर्कायो । उसका लागि असरफ दारीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । मध्यान्तर अघिको खेल सकिने बेलामा पुनः क्रोएसियाले गोल गर्दै अग्रता बनाउन सफल भयो ।

मध्यान्तर अघि २–१ गोलले पछि परेको मोरक्को मध्यान्तर पछि खेलमा केही आक्रामक देखिएता पनि गोल गर्न भने सकेन । दुवै टिमले गोलका अवसर सिर्जना गरेपनि गोल गर्न असफल हुँदा मध्यान्तर अघिको नतिजाले नै क्रोएसियाका लागि जित दिलायो ।

सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासँग ३–० गोलले पराजित भएको थियो भने मोरक्कोलाई फ्रान्सले २–० गोलले हराएको थियो । तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित भएका क्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानको लागि भएको खेलमा क्रोएसियाले बाजि मार्यो । क्रोएसिया अघिल्लो विश्वकप फुटबल प्रतियोगिताको उपविजेता टिम हो । क्रोएसिया फाइनलमा फ्रान्ससँग पराजित भएको थियो ।

फिफा विश्वकपको २२ औं संस्करण आजबाट सकिंदै छ । आज आइतबार डिफेन्डिङ च्याम्पियन फ्रान्स र छ पटकसम्म फाइनल खेलिसकेको अर्जेन्टिनाबीच नेपाली समयअनुसार पौने ९ बजे फाइनल खेल हुँदैछ । दुवै टिम इतिहास रच्ने दाउमा छन् ।