दोहा – कतारमा जारी फिफा विश्वकप फुटबलको महाकुम्भमेला समापनको अन्तिम सङ्घारमा पुगेको छ । नोभेम्बर २० तारिखदेखि सुरुभएको कतारी संस्करणको विश्वकप डिसेम्बर १८ तारिखका दिन सकिंदैछ ।

जारी विश्वकपको अन्तिम खेल डिफेण्डिङ च्याम्पियन फ्रान्स र अर्जेन्टिनाबीच नेपाली समयअनुसार आइतबार पौने नौ बजे हुँदैछ । सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई हराएर पुग्दा फ्रान्सले मोरक्कोलाई हराउँदै फाइनलमा पुगेको हो ।

विश्वकपको २२ औं संस्करण अन्तर्गत कतारमा जारी प्रतियोगितामा ३२ राष्ट्रहरुको सहभागिता रहेको थियो । आठ समूहमा विभाजित टिमको समूहचरणबाट विजेता र उपविजेता गरी १६ टिम विजेता र उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका थिए ।

अरब र मुस्लिम देशमा आयोजना भएको यो पहिलो विश्वकप हुनुको साथै यस अघि दक्षिण कोरिया र जापानमा सन् २००२ भएको विश्वकप पछि एशियाली देशमा भएको दोस्रो हो । कतारले आयोजना गरेको यस विश्वकपमा दुई सय २० बिलियन डलरभन्दा खर्च हुने अनुमान गरिएको छ । कतारी विश्वकप संस्करण हालसम्म आयोजना गरिएको सबैभन्दा महङ्गो विश्वकप हो । यो आँकडा विश्वकप आयोजकका सीईओ नासेर अल खाटरसहित कतारी अधिकारीहरु भनाइ हो । जुन कुरा विवादास्पद पनि बनेको छ । जारी विश्वकपको वास्तविक लागत भने ८ बिलियन डलर हुनुपर्ने बताइएको छ ।

विश्वकप फुटबल पहिलो पटक १९३० मा उरुग्वेमा भएको थियो । पहिलो विश्वकप जित्ने राष्ट्रपनि आयोजक राष्ट्र उरुग्वे नै बन्न सफल भयो । विश्वकपको इतिहास हेर्दा अहिलेसम्म सबैभन्दा धेरै पटक विश्वकप जित्ने देशको सूचीमा ब्राजिल रहेको छ । ब्राजिलले पाँच पटकसम्म विश्वकप जितिसकेको छ ।

यसअघि सन् २०१८ को विश्व विजेता फ्रान्स यसपटक पनि विश्वकप जित्ने दाउमा रहेको छ भने दुई पटकको विश्व विजेता अर्जेन्टिना पनि फ्रान्सलाई हराएको तेस्रो पटक विश्वकपको ट्रफी आफ्नो पोल्टामा हाल्न चाहन्छ । फ्रान्स र अर्जेन्टिनाबीच हुने फाइनलमा कसले विश्वकप ट्रफी चुम्ने हुन्, यसको छिनोफानो अब दुई दिन पछि हुनेछ । कतारको राष्ट्रिय दिवसको दिनमा हुने २२ औं विश्वकपको अन्तिम खेल लुसेल स्टेडियममा हुनेछ ।

जारी विश्वकपको अन्त्यसँगै आगामी संस्करण स्न २०२६ मा हुने छ । जुन संस्करणमा ४८ टिमको सहभागी हुनेछ । आगामी संस्करण अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्नेछन् । (प्रशिक्षार्थी सुमिना बास्कोटा)