फाइल तस्वीर
काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । राष्ट्रिय टिमका चार महिनाअघिमात्र मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका प्रभाकरले आज बिहीबारदेखि नै लागूहुने गरी प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।

View Post

मुख्य प्रशिक्षकको राजीनामा आजैबाट लागूहुने गरी स्वीकृत भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि लागू हुने गरी राजीनामा दिएका थिए । प्रशिक्षक प्रभाकरले क्यानका पदाधिकारी, केही खेलाडीसँगको विवाद र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा निरन्तर खराब नतिजालाई मुख्य कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।

राष्ट्रिय टिमको मूख्य प्रशिक्षकका लागि एक वर्षको सम्झौता गरेर गत साउनको अन्तिम साता नेपाली राष्ट्रिय टिम सम्हाल्न आएका प्रभाकरको प्रशिक्षणमा रहेको बेला नेपाली टिमले केन्यालाई हराउँदै ‘टी–२० अन्तर्राष्ट्रिय शृङ्खला एकदिवसीय शृङ्खला जितेको थियो ।

अघिल्लो महिना नेपालले युएईलाई एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हराए तापनि आईसीसी विश्वकप क्रिकेट लिग टू को हालै सम्पन्न त्रिकोणात्मक शृङ्खलामा भने नेपालको प्रदर्शन अहिलेसम्मकै खराव रहन पुगेको थियो । नेपालसहित स्कटल्याण्ड र नामिवियासहित तीन देश सम्मिलित शृङ्खलामा नेपालले कुनै पनि खेल जित्न सकेन ।

सन् २०१८ मा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयता नेपालले चार वर्षमा पाँचजना प्रशिक्षक परिवर्तन गरिसकेको छ । नेपाली राष्ट्रिय क्रिकेटको स्तर निरन्तर खस्कदै गएको हुँदा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोखिममा रहेको अवस्थामा नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक छिटो छिटो परिवर्तन हुँदा नेपाली क्रिकेटको स्तर निरन्तर खस्किंदै गएको छ ।