प्रतिकात्मक तस्वीर
पोखरा – तनहुँमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका– ४ दुलेगौँडास्थित प्रगती टोलमा बस्दै आएका ४० वर्षीय मनबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उनलाई श्रीमती ३६ वर्षीय शुशिला विकले ढु्ङ्गा प्रहार गरेको बुझिएको छ । उनीहरू पोखरा महानगरपालिका– ३० शिसुवा घर भइ दुलेगौँडा डेरामा बस्दै आइरहेका छन् ।

जिल्ला प्रहरी कार्यलय तनहुँले जनाए अनुसार मादक पदार्थ सेवन गरेकी श्रीमतीले घरायसी विवादमा ढुङ्गा प्रहार गर्दा टाउकोमा चोट लागेको थियो । उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो ।

गएराती साढे ९ बजे घटना घटेको थियो । ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रीमानको हत्या गर्ने सुशिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।