दोहा – कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटी गर्दागर्दै लुसेल स्टेडियममा ढलेका सेक्युरिटी गार्डको मृत्यु भएको छ । कतारको सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) को सर्वोच्च समितिका अनुसार गार्ड जोन न्जाउ किबुईको बुधबार मृत्यु भएको हो ।

तीन दिन सघन हेरचाह इकाईमा रहेका उनको चिकित्सा टोलीको प्रयासको बाबजुद पनि दुखद मृत्यु भएको एससीले जनाएको छ । ‘एम्बुलेन्समार्फत हमाद मेडिकल अस्पतालको सघन हेरचाह इकाईमा सार्नु अघि स्टेडियम मेडिकल टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए र आकस्मिक उपचार प्रदान गरेका थिए, एससीको प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘मृतक गार्डको आफन्तलाई पनि जानकारी गराइसकिएको छ । यो कठिन समयमा उनको परिवार, सहकर्मी र साथीहरूलाई हार्दिक समवेदना व्यक्त गर्दछौ’, एससीले भनेको छ । मृतक सेक्युरिटी गार्डको परिवारले पाउने क्षतिपूर्ति रकम प्राप्त गर्ने सुनिश्चित गरिने पनि एससीले जनाएको छ ।

उनी शनिबार नेदरल्याण्ड्स र अर्जेन्टिनाबीचको क्वार्टरफाइनल खेलमा सेक्युरिटी गार्ड गरिरहेका बेला ढलेका थिए । फिफा विश्वकप आयोजक देश कतारले उनी के कारणले स्टेडियममै ढलेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ । यसअघि साउदी अरेबियाले फिफा विश्वकपको प्रशिक्षण स्थलको प्रयोग गर्दै आएको रिसोर्टमा काम गर्ने क्रममा एक फिलिपिनो नागरिकको मृत्यु भएको थियो । एजेन्सी