पत्रपत्रिकाबाट

काठमाडौं – महिनामा एकपटक आएर महिनाभरिको हाजिर गर्ने प्रवृतिको अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसमा विद्युतीय हाजिरी अनिवार्य गरेलगत्तै कार्यविधि बनाउन शुरू गरेको छ । त्रिवि प्राध्यापक संघले कार्यविधि बनाउनुपर्ने माग राखेपछि कार्यविधि बनाउन लागिएको हो ।

दशैंलगत्तै अनिवार्य गरेको विद्युतीय हाजिर प्रभावकारी भएपछि त्यसलाई व्यवस्थित र थप कडाई गर्न कार्यविधि बनाउन लागेको त्रिविले जनाएको छ । त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सबै निर्देशनालय, विभाग, महाशाखा, प्राध्यापक, सहप्रध्यापक, उपप्राध्यापकलगायत सबै कर्मचारीलाई अनिवार्य हाजिरको व्यवस्था गरेको जानकारी दिए ।

उनले भने, ’विद्युतीय हाजिर शुरू भइसकेको छ । अब केही महिनाभित्र कार्यविधि बनाएर सोहीअनुसार व्यवस्थित गर्नेछौं।’ उनले त्रिविलाई प्रविधिमैत्री बनाउन सबै कर्मचारी र शिक्षकले अनिवार्य रूपमा विद्युतीय हाजिर गर्नुपर्ने व्यवस्था गरेको बताए । (नेपाल समाचारपत्र दैनिकबाट)