दोहा — कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तगर्त भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको लुसैल रङ्गशालामा सम्पन्न खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराउँदै फाइनमा प्रवेश गरेको हो ।

लुसैल रङ्गशालामा भएको उक्त खेलमा फ्रान्सलाई जित दिलाउन खेल सुरु भएको पाँचौं मिनेटमा नै थिओ हर्नान्डेज र रान्डल कोलो मोउनीले गोल गर्दै अग्रता दिलाएका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका रन्डल कोलो मोउनीले खेलको ७९ औं मिनेटमा ४४ सेकेन्डमा फ्रान्सको अग्रता दोब्बर बनाउँदै गोल गरेका थिए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्स विजेता बन्न सफल भयो । मोरक्कोले थुप्रै गोल गर्ने अवसरहरु सिर्जना गरेपनि गोल गर्न सकेन । दुई गोलले पछिपरेको मोरक्को खेलमा फर्कन निकै प्रयासरत रहँदा पनि उसले पाएको अवसरलाई सदुपयोग गर्न सकेन । दुवै टिमबीच निकै प्रतिस्पर्धा देखिएता पनि २–० गोलले पछि परेको अफ्रिकी टोली मोरक्कोले गोलको खाता खोल्न सकेन ।

अब फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३–० गोलले हराउँदै अर्जेन्टिनाले फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल आइतबार ८ः४५ बजे लुसैल मैदानमा हुनेछ ।

फ्रान्स चौथोपटक विश्वकपको फाइनलमा पुगेको हो । सन् १९९८ को विश्वकपको फाइनलमा पुग्दै उपाधि जितेको फ्रान्स सन् २००६ को विश्वकपमा पनि फाइनलमा पुगेको थियो। त्यस्तै सन् २०१८ मा भएको विश्वकपमा पनि फ्रान्स फाइनलमा पुगेको थियो । सातपटक विश्वकपको सेमिफाइनलमा फ्रान्सले केवल तीनपटक मात्र हारको सामना गरेको छ ।

यसपटकको विश्वकपको समूह चरणमा अष्ट्रेलियालाई ४–१ ले पछि पारेको फ्रान्सले दोस्रो खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पाखा लगाएको थियो । समूहचरणको अन्तिम खेलमा १–० ले पछि परेको फ्रान्सले अन्तिम १६ को खेलमा पोल्याण्डलाई ३–१ ले हराउँदै क्वार्टरफाइनलमा इंग्ल्याण्डमाथि २–१ गोलअन्तरको जित हात पारेको थियो।

विश्वकप फुटबलमा यी दुई टोली तेस्रो पटक भेट भएका हुन्। पहिलो पटक १९७८ मा समूह चरणमा भेट हुँदा अर्जेन्टिनाले फ्रान्सलाई २–१ ले पराजित गरेको थियो । फाइनलसम्म आइपुग्दा यी दुवै टोली एक एक खेलमा पराजित भएका छन् । समूह चरणको पहिलो खेलमा अर्जेन्टिना साउदी अरेवियासँग पराजित भएको थियो भने समूह चरणकै अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको थियो ।

अन्तिम १६ मा फ्रान्सले पोल्याण्डलाई र अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गरेको थियो भने क्वार्टरफाइनलमा आएर फ्रान्सले इङ्ग्ल्याण्डलाई र अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

कतारमा जारी विश्वकप फुटबलमा यी दुवै समूह गोल्डेनबुटको दाबेदार छन् । एउटै क्लब पीएसजीबाट व्यावसायिक फुटबल खेलेका अर्जेन्टिनाका मेस्सी र फ्रान्सका एम्बाप्पे फाइनल खेल विश्वकप उपाधिका लागि आइतबार राती ८ः४५ बजे लुसैल मैदानमा भिड्दै छन् ।