कास्की – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने सङ्केत गर्नुभएको छ । आज बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ‘तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु’ भन्नुभएको हो ।

उहाँले आफ्नो पहिलो कार्यकाल विधि, प्रक्रिया बुझ्न नपाई बितेको र दोस्रो कार्यकालमा मधेश, पहाड, हिमाललाई एकावद्ध गर्ने प्रक्रियामा भूमिका खेलेको बताउँदै बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने प्रण गरेको जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो–‘यो पटक देशको नेतृत्व गर्ने अवसर पाउँदा केही अविश्मरणीय विकासका योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’ उहाँले नयाँ दलहरुको उदय प्रमुख दलहरुलाई चुनौतीसँगै अवसर भएको बताउँदै भन्नुभयो –‘गम्भीर समीक्षासहित सुशासन, विकास र समृद्धिको दृष्टिले यो अभियान सुरु गर्न सकेनौं भने आउने दिन चुनौतीपूर्ण हुनेछ ।’