काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले लोकसेवा आयोगले लिएको लिखित तथा अन्तरवार्ता परीक्षाबाट प्रदेशगत रुपमा छनोट भएका नवनियुक्त दुई सय अधिकृतहरुलाई दश दिने पूर्व सेवाकालिन तालिम सञ्चालन सुरु गरेको छ ।

सो तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक रुपान्तरणको प्रक्रियामा रहेकाले प्रतिस्पर्धी बजारमा बैंकले लिएको रणनीति कार्यान्वयनमा यी नवनियुक्त अधिकृतहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले विभिन्न प्रक्रिया पश्चात् बैंकले एकपटक ठुलो संख्यामा युवा अधिकृतहरुलाई नियुक्ति दिएर बैंकिङ्ग क्षेत्र मार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताउनुभयो । कार्यक्रममा उहाँले नवनियुक्त सहायक प्रबन्धक, तह ६ र उप–प्रबन्धक, तह ७ का जम्मा दुईसय जना अधिकृतहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराउनुभएको छ ।
सो दश दिने पूर्व सेवाकालिन तालिम कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे लगायतले नवनियुक्त अधिकृत कर्मचारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो ।