दोहा — कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तगर्त भएको सेमिफाइनलमा अर्जेन्टिनाले अघिल्लोे विश्वकपको उपविजेता क्रोएसियालाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न उक्त खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलको फराकिलो अन्तरले पाखा लगाउँदा फाइनमा पुगेको हो ।

कतारको लुसैल रङ्गशालामा सम्पन्न खेलमा विश्व फुटबल सुपरस्टार मेसी र युलियन आल्भारेज चम्किदा क्रोएसिया अर्जेन्टिनाका सामु निरिह देखियो । मध्यान्तर अघिको ३४ औं मिनेटमा क्रोएसियाले डि एरियामा फल गरेपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै सुन्दर ढङ्गले क्याप्टेन मेसीले गोलपोष्टको जालि चुमाए पछि अर्जेन्टिनाले खेलमा अग्रता लिएको थियो ।

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले आफ्नो १८ यार्ड बक्सभित्र अर्जेन्टिनाका फरवार्ड जुलियन आल्भारेजमाथि फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । मेसीले पेनाल्टीमार्फत् गोलको गरेको पाँच मिनेट बित्न नपाउँदै अर्जेन्टिनाका लागि आल्भारेजले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारेका थिए । आल्भारेजले आफ्नो पेनाल्टी क्षेत्रबाट एक्लै बल अघि बढाउदै क्रोएसियाका पाँच रक्षकलाई कटाउदै उत्कृष्ट ’सोलो’ गोल गरेका थिए ।

मध्यान्तर अघि दुई गोलले पछिपरेको क्रोएसिया खेलमा फर्कन निकै प्रयासरत थियो । तर उसले पाएको अवसरलाई सदुपयोग गर्न सकेन । मध्यान्तर पछि दुवै टिमबीच निकै प्रतिस्पर्धा देखिएता पनि २–० गोलले पछि परेको क्रोएसियाले गोलको खाता खोल्न सकेन । यता अर्जेन्टिनी क्याप्टेल लियोनल मेसीको पासमा आल्भारेजले नै ६९ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–० गोलको अग्रता दिलाउँदै जित सुनिश्चित गरे । यो खेलमा अजेन्टिनाका लागि आल्भारेज हिरो सावित भए ।

सन् २०१४ मा ब्राजिलमा सम्पन्न उक्त विश्वकपको फाइनलमा अन्तिम समयमा जर्मनीसँग १–० ले स्तब्ध बन्न पुगेको अर्जेन्टिनाले सन् २०१८ को विश्वकपमा समूहचरणमा क्रोएसियासँग ३–० पराजय भएको बदला समेत लिएको छ । यो जितसँगै मेसीकै कप्तानीमा अर्जेन्टिना यसपटक विश्वकप जित्ने अपेक्षाका साथ फाइलनमा पुगेको छ । क्रोएसियालाई हराएसँगै अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । विश्वकपको इतिहासमा अर्जेन्टिनाले सेमिफाइनल खेलमा हार बेहोरेको छैन ।

क्रोएसियालाई हराउँदा मेसीले आफ्नो खेलजीवनको अन्तिम सङ्घारमा पुग्दैगर्दा नयाँ इतिहास पनि कोरेका छन् । यो खेल जितेसँगै मेसीले यसअघि जर्मनीका लोथर लोथरको नाममा रहेको विश्वकपमा २५ खेल खेलेको कीर्तिमानसँग बराबरी गरेका छन् । यसबाहेक मेसीले विश्वकपमा अर्जेन्टिनाबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाउन सफल भएका छन् । विश्वकपमा ११ गोल पु¥याएका मेसीले यसअघि बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोड्दै आफ्नो खेलजीवनमा एकपछि अर्को इतिहास थप्न सफल भएका छन् ।

कतार विश्वकप प्रतियोगिता अन्तिम सङ्घारमा आइपुगेको छ । समूह चरणको सुरुवाती खेलमा साउदी अरेयिबासँग स्तब्ध बनेको अर्जेन्टिना त्यसपछि लगातार जित निकाल्दै विश्वकप फाइनलको यात्रा तय गरेको छ । पहिलो सेमिफानलमा अर्जेन्टिना विजयी बन्दै फाइनल प्रवेश गरिसक्दा अर्को सेमिफाइनलको भिडन्त फ्रान्स र मोरक्कोबीच भोलि बिहीबार हुनेछ । यी दुई टिमको विजेताले फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।