काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजार परिसूचक नेप्सेमा शून्य दशमलव १३ प्रतिशतको गिरावट आएको छ । आज २ दशमलव ५७ अङ्कले घटेको बजार १८९९ दशमलव ७० बिन्दुमा झरेको छ । आज कुल २४८ धितोपत्रको १६ हजार ३२० वटा कारोबारबाट २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जलविद्युत, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक हरियो देखिएका छन् । अन्य सबै परिसूचक भने राताम्य रहेका छन् । मंगलबार सीवाईसीसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसको मूल्य २२६० दशमलव २० रुपैयाँ पुगेको छ । सान्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेन्स्ड फण्ड, माथिल्लो तामाकोशी लगायतको सेयर मूल्य धेरैले बढेको छ ।

आज मङ्गलबार तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको मूल्य ३ दशमलव २९ प्रतिशतले घटेर ३२० रुपैयाँ कायम भएको छ । सिंगटी हाइड्रो, अरुण कावेली पावर, इन्फिनिटी लघुवित्तसहितका कम्पनीका लगानीकर्ताले समेत धेरै गुमाएका छन् । मङ्गलबार नबिल बैंक, नेपाल टेलिकम, समिट लघुवित्त वित्तीय संस्था, नेपाल बैंक, माथिल्लो तामाकोशी जलविद्युतको धेरै कारोबार भएको छ ।