फाइल तस्वीर

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको जिकिर गर्नुभएको छ । लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयका आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले प्रदेशको राजधानी सार्ने अघिल्लो प्रदेश सरकारको निर्णय आफूले कार्यान्वयन गर्न सफल भएको बताउनुभयो ।

आफू नेतृत्वको प्रदेश सरकारले प्रदेशभित्र रहेका सबै जिल्लालाई जोड्ने गरी १३ सय किलोमिटर पहाडी मार्ग सम्पन्न गरेको, लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल तथा लुम्बिनी प्रादेशिक विश्वविद्यालय स्थापना गरेर सङ्घीय शासन व्यवस्थालाई बलियो बनाउने दायित्व पूरा गरेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री केसीले प्रदेशसभा भवन निर्माणको काम पनि सकिएको र आगामी प्रदेशसभाको बैठक पनि देउखुरीमा नै बस्ने बताउनुभयो । उहाँले केही दिनभित्रै मन्त्रालयका सबै काम पनि राजधानी देउखुरीबाटै हुने बताउँदै लुम्बिनी प्रदेशको राजधानी सबैलाई पायक पर्ने भएकाले दाङको देउखुरीलाई चयन गरिएको पनि उल्लेख गर्नुभयो ।