विराटनगर – राष्ट्रिय परिचयपत्रका लागि मोरङमा दुई लाख ९० हजार जनाको विवरण सङ्कलन गरिएको छ । गत कात्तिकदेखि यहाँका एक महानगरसहित १७ पालिकामा विवरण सङ्कलन गर्न सुरु गरिएको हो ।

बेलबारी, सुन्दरहरैंचा, बुढीगङ्गा र विराटनगर महानगरपालिकाबाहेक सबै पालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम सम्पन्न भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिन्भयो । उहाँले बताए अनुसार देशभरका ३५ जिल्लाका ९६ लाखको विवरण सङ्कलन भइसकेको छ ।

मोरङको बेलबारी नगरपालिकामा आज आयोजित राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियानसम्बन्धी अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रिय परिचयपत्र निकै महत्वपूर्ण हुने भनिएकाले यस्तो अभियानमा सरिक हुन आग्रह गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयमा दैनिक सात सय मानिसलाई राहदानी, सिफारिस, नागरिकता तथा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो ।