बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि यू–२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनोटमा परेका छन् । नेपाली भलिबल सङ्घले घोषणा गरेको १४ सदस्यीय यू–२३ टिममा गण्डकीबाट बागलुङका रवि केसी र स्याङ्जाका भीमराज गुरुङ छनोटमा परेका हुन् ।

बङ्गलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एसोसिएसनको संयोजनमा उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो । २२ वर्षीय केसी ओपन स्पाइकर र गुरुङ लिबेरो हुन् । आउँदो पुस ५ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिमले नेपालका तर्फबाट भाग लिनेछ । देशभरबाट खुला छनोटमा परेका २० खेलाडीमध्ये एक महिनाको बन्द प्रशिक्षणमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा १४ जना खेलाडीको अन्तिम छनोट गरिएको सङ्घले जनाएको छ ।

भलिबल खेलको इतिहासमा पहिलोपटक यू–२३ राष्ट्रिय टिम तयार पारी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो । केसी र गुरुङसँगै धिरोजकुमार बस्नेत, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महत्ता, मनिष मानन्धर, हेमन्त मल्ल, बेदप्रकाश जोशी, सम्राट भण्डारी र गौरव पाण्डे टिममा रहेका छन् ।