दोहा – कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज मङ्गलबारबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछन् । जसअनुसार लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको पहिलो सेमिफाइनल खेलमा आज राति १२ः४५ बजे अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्दैछन् ।


सन् २०१८ को विश्वकपमा फाइनल खेलमा फ्रान्ससँग पराजित भएको क्रोएसिया आजको खेलमा जित निकाल्दै लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ ।
यसैगरी अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । अर्जेन्टिना उक्त संस्करणमा जर्मनीसँग पराजित भएको थियो । यसअघि क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई र क्रोएसियाले ब्राजिललाई हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए । दुबै टिमले टाइब्रेकरमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।


अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने योजना बनाएका मेस्सीले यो विश्वकप उपाधि जित्दै अन्तिम विश्वकपका रुपमा लिने योजना बनाएका छन् । दुई पटक विश्व च्याम्पियन बनिसकेको अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ ।