फाइल तस्वीर
काठमाडौं – नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘छ’ जारी गर्ने भएको छ । केन्द्रीय बैंकले यहि मङ्सिर २८ गते बुधबार ३ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो ।

यो ऋणपत्र भोलि मङ्गलबार बोलकबोलमार्फत बिक्री गरिनेछ । यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र २०८२ मङ्सिर २८ गते परिपक्व हुनेछ ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात १ दशमलव ७ अर्ब र ० दशमलव ३ अर्ब छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ ।