काठमाडौं – काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आज आइतबार पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो ।

‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं’ भन्दै उनीहरुले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा पूर्वी नवलपरासीका मिनबहादुर विश्वकर्मा, अछामकी सागरजंग लुहार र दुधकला विश्वकर्मा, पाँचथरकी सिर्जना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, नुवाकोटकी अञ्जना तामाङ तथा कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् ।

उनीहरुको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटरप्याड, नगद रसिदसहित ५ लाख ८ हजार ६ सय ४० रुपैयाँ बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताउनुभयो । उनीहरुमाथि प्रहरीले ठगी र किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ ।