दमक – जङ्गली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन् । घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुई परिवारका चार सदस्यको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार हल्दिबारी गाउँपालिका ४ स्थित कालीमन्दिर टोलको गाउँमा आइतबार बिहान करिब २ः१५ बजे चारकोशे जलथल जङ्गलबाट हात्ती निस्किएको थियो ।

गाउँघरमा हात्ती निस्किएपछि खेदाउने क्रममा हात्तीको आक्रमणमा परी उनीहरू घाइते भएको स्थानीयले बताएका छन् । साथै हात्तीले स्थानीय जयप्रकाश दाहालको अन्दाजी एक बिगाहाको धान पूर्ण रूपमा क्षति पु¥याउनुका साथै विजय लावतीको थ्रेसर लगाएको करिब ६ मन धान खाएर नष्ट गरिदिएको स्थानीयको भनाई छ ।

हात्तीले धनबहादुर गहतराजको अटोमा समेत क्षति पु¥याएको छ । दाहालको खमारमा रहेको अन्दाजी एक बिगाहाको कुन्यूको धान क्षति गरिरहेको अवस्थामा गाउँलेले हात्ती देखेपछि घरबाट निस्किएर प्रहरीलाई खबर गरेका थिए । आहारको खोजीमा दिनहुँ आउने हात्तीको कारण जङ्गल आसपासका बासिन्दा त्रसित बनेका छन् ।