दोहा – कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटीमा गर्दागर्दै लुसेल स्टेडियममा ढलेका एक सेक्युरिटी गार्डको अवस्था गम्भीर रहेको छ । शनिबार लुसेल स्टेडियममा ड्युटीको क्रममा ढलेर गम्भीर घाइते भएका एक सेक्युरिटी गार्डलाई तत्काल अस्पताल लगिएको र उपचार पछि पनि अवस्था गम्भीर रहेको कतारको सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) को सर्वोच्च समितिले जनाएको छ ।

सर्वोच्च समितिले शनिबार राती ट्विटरमा एक विज्ञप्ति जारी गर्दै ती गार्डको सघन उपचार केन्द्रमा उपचार भइरहेको जनाएको छ । ‘उनको अवस्था नाजुक रहेको छ । हाम्रो प्रार्थना यस समयमा उनी र उनको परिवारसँग छ । हामी उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।

उनी अस्पतालमा उपचार रहँदा पनि पूरा तलब पाउने विज्ञप्तिमा उल्लेख छ । उनी कुन देशका हुन् भन्ने पनि खुलाइएको छैन । फिफा विश्वकप आयोजक देश कतारले उनी के कारणले स्टेडियममै ढलेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।