दोहा – कतारमा जारी विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो क्वाटरफाइनलमा साँझ ८ः४५ मा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । ब्राजिल दक्षिण कोरियालाई अन्तिम १६ मा पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने क्रोएसियाले जापानलाई पराजित गर्दै ब्राजिलसँगको भेट पक्का गरेको हो ।

आजको दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच राति १२ः४५ बजे कडा प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र नेदरल्यान्ड्सको खेल लुसाइल स्टेडियममा हुनेछ । अर्जेन्टिना अन्तिम १६ मा अष्ट्रेलियालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने नेदरल्यान्ड्सले अमेरिकालाई हराउँदै अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।

क्वाटरफाइनलका अन्य दुई खेल भोलि शनिबार हुनेछन् । शनिबारको पहिलो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलको अन्तिम खेलमा शनिबार मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।