दोहा– कतारमा जारी विश्वकप फुटबल–२०२२ मा पोर्चुगल चमत्कारी लेख प्रदर्शन गर्दै क्वाटरफाइलनमा प्रवेश गरेको छ । आज बिहान सकिएको खेलमा पोर्चुगलले स्विट्जरल्याण्डमाथि ६–१ गोलान्तरको फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

विश्वकप फुटबलको जारी संस्करणमा पोर्चुगलले प्रि–क्वाटरफाइनलमा विश्वकप दावेदारको रुपमा आफुलाई प्रस्तुत गर्दै अन्तिम आठमा पुगेको छ । उसले विपक्षी टिम स्विट्जरल्याण्डमाथि हावी हुँदै एक लौटी खेल प्रदर्शन गरेको थियो । कतारी संस्करणमा ह्याट्रिक गोल गर्ने टिम पनि पोर्चुगल नै बन्यो । पोर्चुगलका लागि गनक्यालो रामोसले ह्याट्रिक गर्दै आफ्नो नाममा कीर्तिमान स्थापित गरेका छन् ।

लुसिल स्टेडियममा मङ्गलबार राति पोर्चुगलले निरन्तर गोलको वर्षा गर्दा रामोसले नै सुरुवाती खेलको १७ औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले ५१ औं र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा पोर्चुगालि टिमका लागि पेपे, राफायल गुइरेरो र राफायल लियोले समान एक–एक गोल गर्दै पोर्चुगललाई ऐतिहासिक जित दिलाए ।

५१ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० ले अघि रह्यो । उनले डिएगो डालोटको पासलाई सदुपयोग गरे। खेलको ५५ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई ४–० को अग्रता दिलाए । राफायलले रामोसको पासमा गोल गरेका हुन् । पोर्चुगलका क्याप्टेन स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई प्रशिक्षकले आराम दिन बेच्नमा राखेका थिए । रोनाल्डोलाई पछि खेलको ७४ मिनेटमा मैदानमा प्रवेश गराए पनि उनले गोलभने गर्न सकेनन् ।

यता ४ गोलले पछि परेको स्विजरल्याण्डले खेलमा फर्किन निकै प्रयत्न गर्दा पनि पोर्चुगलका अगाडि निरिह सावित भयो । यद्यपि, ५८ औं मिनेटमा एकान्जीले गोल गर्दै स्विट्जरल्याण्डलाई सान्त्वना गोल गर्दै पोर्चुगलसँग गोल अन्तर घटाए । तर स्वि स्विट्जरल्याण्ड खेलमा फर्किन सकेन । अन्ततः कतार विश्वकपबाट बाहिरिदै घर फर्कियो । अब पोर्चुगलले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइलनमा मोरक्कोसँग खेल्ने छ ।

हिजो रातिभएको अर्को खेलमा विश्वकप विजेता स्पेन पनि प्रि–क्वाटरफाइनलमा पराजय भोग्दै घर फर्किएको छ । विश्वकप दाबेदारको रुपमा हेरिएको स्पेनलाई पेनाल्टी शुटआउटमा स्तब्ध पार्दै मोरक्को पहिलोपल्ट विश्वकप क्वाटरफाइनल (अन्तिम आठ) मा पुगेको छ । दोहाको एजुकेसन सिटी रङ्गशालामा भएको खेलमा मोरक्कोले दर्शकको राम्रो साथ पाउँदा स्पेनलाई पुरै खेलमा रोकेको थियो । सुरुको ९० मिनेट र थपिएको अतिरिक्त ३० मिनेट गरी १२० मिनेटसम्म दुवै टिमले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुग्यो ।

मोरक्कोका गोलकिपर यासिन बोनो स्पेनका लागि पर्खाल बन्दै दुई पेनाल्टी बचाएपछि मोरक्कोले अन्तिम आठमा स्थान पक्का गरेको हो । स्पेनका कप्तान सर्जियो बुस्केट र कार्लोस सोलरको प्रहार मोरक्कोका गोलकिपर बोनोले बचाए । पेनाल्टीमा मोरक्कोका लागि अब्देलहमिद साबिरी, हाकिम जियाच र अच्रफ हाकिमीले गोल गरे । बाडर बनाउनेको प्रहार भने स्पेनका गोलकिपर उनाई सिमोनले बचाएका थिए ।

जारी विश्वकपमा पेनाल्टी शुटआउटबाट नतिजा टुङ्गो लागेको यो दोस्रो खेल हो । यसअघि क्रोएसियाले जापानलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ । कतार विश्वकप संस्करणबाट विश्वविजेता टिम जर्मनी र स्पेन बाहिरिएका छन् ।